अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार



कैलाली – माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरीका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् ।

चिसापानीको सानो भूगोल मात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौंदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न अनुत्तरित छ— के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वकांक्षी परियोजना हो– जालपादेवी केबलकार ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजनाअन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आइएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब रु छ अर्ब लगानी अनुमान गरिएको परियोजनामा तीन दशमलव एक किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।

यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधार मात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रुपमा हेर्ने गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँर यति ठूलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रुपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुदूरपश्चिममा यति ठूलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।”
त्यसैगरी टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईं पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठूलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठूलो मद्दत पुग्ने धारणा राख्नुहुन्छ ।

गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना
करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्वाकांक्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आइएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना विसं २०८१ पुुस १३ मा शिलान्याश भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो ।

आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ ।

“हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पोल ठड्याउने ९इरेक्सन०, बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यसलगत्तै तार तान्ने ९स्ट्रिङगिङ० र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।”

हाल टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेल भन्नुहुन्छ, “यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।”

लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रुप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउनुहुन्छ । केवलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उहाँको भनाइ छ । यहाँ निर्माण हुने सुविधासम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ ।

पर्यटन र अर्थतन्त्र सुधारको आधार
हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिकजसो करिब पाँचदेखि सात सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरु बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीयस्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैशीको विश्वास छ ।

यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्‍याफ्टिङ ९जलपर्यटन० लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रुपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ ।

“राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रुपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जनामा टेवा पुग्ने बताउनुहुन्छ । “परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्‍याउनेछ । त्यसैले यस्ता परियोजनाहरु हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरुमा पनि यस्ता आयोजनाहरु साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

खुल्दैछ रोजगारीको नयाँ ढोका
सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ ।

केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना हुने व्यवसायी कालु हमालको अपेक्षा छ ।

“हालसम्म एउटा पुल छ, अब केबलकारलगायत पूर्वाधार थपिने भए । त्यसले पर्यटकको आकर्षण बढाउने छ । साहसिक पर्यटकका लागि जलपर्यटन, धार्मिक आस्था राख्नेका लागि जालपादेवी र वातानुकूलित मौसममा रमाउनेका लागि यहाँ तमाम विकल्प छन्”, उहाँ भन्नुहुन्छ, “यहाँबाट काठमाडौँ छ सय किलोमिटर छ, तर दिल्ली चार सय मात्रै । धेरै जनसङ्ख्या भएका भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने वातावरण बनाएर केबलकारलाई केन्द्रमा राखेर कर्णाली नदीको किनारै किनार नयाँ सम्भावना स्थापित गर्न सकिन्छ, जसले स्थानीयस्तरमा रोजगारीका धेरै अवसर सिर्जना गर्नेछ ।”

राजकाँडा क्षेत्रतर्फ मात्र नभई कणाली नदीको तीनरचार सय किलोमिटर क्षेत्रमै पर्यटनका नयाँ सम्भावना खोज्न सकिने भएकाले सरकारल राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ ।

चिसापानी भौगोलिक रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको संगमस्थलजस्तै छ । लामो समयदेखि पथप्रदर्शकको रुपमा काम गर्दै आउनुभएका बर्दियाका राजन चौधरी कर्णाली क्षेत्र मनोरञ्जन, जङ्गल सफारी, जलपर्यटन र धार्मिक आस्था राख्ने सबै किसिमका पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र केवलकार सञ्चालनले त्यसमा थप आकर्षण थप्ने बताउनुहुन्छ ।

“पछिल्लो समय नेपालीहरुमा पनि नयाँ ठाउँ जाने र रमाउने बानीको विकास भइरहेको छ । करिब दुई तीन घण्टाको दूरीमा भारतका ठूलो जनसङ्ख्या भएका क्षेत्र चिसापानीसँग जोडिन सहज सडक सञ्जाल छ । उत्तराखण्डका बनबासा, खटीमा, हल्द्वानी र रुद्रपुरजस्ता सहरबाट पनि सडकमार्ग हुँदै केही घण्टामै चिसापानी पुग्न सकिन्छ । त्यहाँबाट आउने पर्यटकको सानो अंश मात्रै आकर्षित गर्न सकियो भने पनि पर्यटनमार्फत सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो परिवर्तन टेवा पुग्न सक्छ । जालपादेवी केबलकार त्यसको एउटा बलियो आधार बन्दैछ”, उहाँले भन्नुभयो ।

समृद्धिको भावी मार्गचित्र र बहुप्रादेशिक लगानी
जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । यस आयोजनाले सुदूरपश्चिमको विकासमा पार्ने बहुआयामिक आर्थिक तथा सामाजिक प्रभावबारे उहाँ भन्नुहुन्छ, “नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइँ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो । “हाम्रो लक्ष्य एउटा परियोजनामा सीमित रहने होइन, सातै प्रदेशमा यस्तै खालका ठूला पर्यटन पूर्वाधार विकास गर्ने हो । सोही रणनीतिक योजनासहित अघि बढिरहेका छौँ । यसले समग्र देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनेछ”, उहाँले भन्नुभयो ।

वर्षौँदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएका कर्णाली किनारका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने यहाँका उद्योगी व्यवसायीको विश्वास छ । (रासस)

Skip This