काठमाडौँ-नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले देशको राजधानी काठमाडौँबाट चितवन सरेजस्तो अनुभूति भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद परियारले एक सातायता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै यस्तो आपत्ति जनाएका हुन्।
सांसद परियारले २०८३ असार ७ गतेदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी रहेको प्रसङ्ग जोड्दै उनले रास्वपा महाधिवेशनका कारण सङ्घीय संसद र सरकारका कामकारबाही समेत प्रभावित हुन पुगेको बताए।
सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माइतीघर पुगेको उनले जानकारी दिए।
कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप उनले लगाए।
बैठकमा सांसद परियारले भने, ‘काठमाडौं देशको राजधानी हो। तर देशको राजधानी काठमाडौंबाट चितवन सरे जस्तो देखियो। किनकी एकहप्तादेखि काठमाडौंमा सरकार छैन।सरकारका कोही पनि प्रतिनिधि काठमाडौंमा नभेटिएको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कयौँ कामकारबाहीहरुमा परेको देखियो । सरकार चितवनतिर आफ्नो काम कारबाहीमा व्यस्त रहँदा म भने सरकारका कामकारबाहीमा चित्त नबुझाएर, आफ्नो अधिकार नपाएर अन्यायमा परेका केही नागरिकलाई भेट्न माइतिघर पुगेको थिएँ । माइतिघरमा कक्षा १२ को नतिजा प्रकाशनका बखत अन्यायमा परेका विद्यार्थी आन्दोलनमा बसेका छन् । मलाई अचम्म लागेको छ, यो सरकारका मन्त्रीहरु जेनजी मूभमेन्ट हुँदा आन्दोलनको कुन फ्रन्टमा थिएँ।’






प्रतिक्रिया