अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकालाई पार्टी सदस्य बनाएकोमा कांग्रेसको प्रश्न: रास्वपा संविधान भन्दा माथि हो ?

बालबालिकालाई पार्टी सदस्य बनाएकोमा कांग्रेसको प्रश्न: रास्वपा संविधान भन्दा माथि हो ?


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रश्न उठाएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा सार्वजनिक गरिएको सदस्यता विवरणमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको देखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद काउँचाले नेपालको संविधान र प्रचलित कानुनले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन तथा राजनीतिक गतिविधिमा सहभागी गराउन निषेध गरेको उल्लेख गर्दै यस्तो कार्य कानुनविपरीत भएको दाबी गरिन्।

‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनिका ३५ हजारभन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ। हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ। के रास्वपा संविधानभन्दा माथि हो?’ सांसद काउँचाले संसद्मा प्रश्न गरिन्।

सांसद काउँचाले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने संवैधानिक तथा कानुनी व्यवस्थाको पालना गर्न सरकारको ध्यानाकर्षण गराउँदै रास्वपाले बाल सदस्यको मतका आधारमा नेतृत्व चयन गरेको आरोपसमेत लगाइन्।

‘बालबालिकाको मतको भर्‍याङ चढेर रास्वपामा भर्खरै धेरै नेताहरू निर्वाचित हुनुभएको छ। विद्यार्थीले राजनीति गर्न नहुने भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने तयारीमा रहेको सरकारले यस विषयमा पनि ध्यान दिनुपर्छ,’ सांसद काउँचाले भनिन्।

यसअघि बैठक सुरु हुनासाथ ज्ञानेन्द्र शाही बाहेक विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसदहरूलाई आफ्ना धारणा राख्न समय दिएका थिए।

Skip This