काठमाडौं– नेकपा एमालेका सांसद पुष्पराज कँडेलले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरे। उनले गत निर्वाचनका क्रममा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा विपक्षी दललाई तर्साउने र विशेषगरी एमालेलाई बदनाम गर्ने उद्देश्यले पक्राउ गरिएको आरोप लगाए।
‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्याे। फागुन २१ गते निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन खोजिएको हो। यसबाट एमालेलाई बदनाम गर्ने उद्देश्य देखिन्छ,’ उनले संसद्मा भने।
सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो।
त्यसैगरी सांसद कँडेलले प्रधानमन्त्री वालेन्द्र शाहले २०८३ जेठ १७ गते संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उनले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र संसद्को अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्ने माग गरे।
‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ। अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाइनुपर्छ,’ उनले भने।






प्रतिक्रिया