काठमाडौं-प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदले सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि माइक बन्द गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद खनालले सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि माइक काटिदिएको हो।
आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा भइरहेको ढिलाइबारे धारणा राख्ने क्रममा सांसद खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेका थिए। त्यसलगत्तै सभामुखले आपत्ति जनाउँदै उक्त सम्बोधन संसदको मर्यादा र नियमअनुसार नभएको बताएपछि उनको माइक बन्द गरिएको हो।
संसदमा सम्बोधन सम्बन्धी व्यवस्था के छ ?
नेपालको संघीय संसदको कार्यसञ्चालनसम्बन्धी नियमावलीअनुसार सांसदहरूले बैठक सञ्चालन गरिरहेका व्यक्तिलाई ‘सभामुख महोदय’, ‘अध्यक्ष महोदय’ वा ‘माननीय सभामुख’ जस्ता सम्मानजनक शब्द प्रयोग गरी सम्बोधन गर्नुपर्ने व्यवस्था छ।
संसदीय अभ्यासमा सभामुख संसदको अध्यक्षता गर्ने संवैधानिक पद भएकाले उनलाई संसद सचिवालयका कर्मचारीसरह अर्थ लाग्ने गरी ‘कर्मचारी’ भनेर सम्बोधन गर्नु असंसदीय र मर्यादाविपरीत मानिन्छ। यस्तै, नियमावलीले सभामुखलाई बैठक सञ्चालनका क्रममा सदस्यलाई सचेत गराउने, असंसदीय अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिने तथा आवश्यक परे बोल्न रोक्ने अधिकार दिएको छ।
माइक काट्न पाउने अधिकार
प्रतिनिधिसभा नियमावलीले सभामुखलाई बैठकको अनुशासन कायम राख्न आवश्यक निर्देशन दिन सक्ने अधिकार प्रदान गरेको छ। कुनै सदस्यले नियमविपरीत अभिव्यक्ति दिएमा वा सभाको मर्यादा उल्लङ्घन गरेमा सभामुखले बोल्न रोक्न, समय सीमित गर्न वा माइक बन्द गर्न सक्ने संसदीय अभ्यास रहँदै आएको छ।
राजनीतिक प्रतिक्रिया
घटनापछि संसद परिसरमा सांसद खनालको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षका सांसदबीच बहस भएको छ। केही सांसदहरूले सभामुखको पदको गरिमा कायम राख्नुपर्ने बताएका छन् भने रास्वपाका केही सांसदहरूले उक्त शब्द प्रयोग सन्दर्भवश भएको दाबी गरेका छन्।
संसदीय जानकारहरूका अनुसार संसदमा प्रयोग हुने भाषा, सम्बोधन र व्यवहार केवल व्यक्तिगत अभिव्यक्ति नभई संस्थागत मर्यादासँग जोडिने भएकाले यस्ता विषयमा विशेष सावधानी अपनाइन्छ।






प्रतिक्रिया