काठमाडौं-नेपाली कांग्रेसले भूमिहीन र सुकुमबासी नागरिकप्रति सरकारले अपराधीजस्तो व्यवहार गरेको आरोप लगाउँदै उनीहरूको समस्या समाधानका लागि संवेदनशील बन्न आग्रह गरेको छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले देशभर भइरहेको सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको उठिबासप्रति सरकारको ध्यानाकर्षण गराउँदै वैकल्पिक व्यवस्था नगरी डोजर लगाएर घर भत्काउने कार्य लोकतान्त्रिक राज्यका लागि शोभनीय नभएको बताइन्।
सांसद गुरुङले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने र आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै डोजर चलाउनुअघि संवाद, समाधान र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। घर भत्किएपछि मात्र पीडा देख्ने प्रवृत्ति दुःखद रहेको उनको भनाइ थियो।
सांसद गुरुङले विशेषगरी एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकाहरू घरबारविहीन हुँदा उनीहरूको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परेको बताइन्। घर भत्काइएका कारण धेरै बालबालिका नियमित रूपमा विद्यालय जान नसकेको, उनीहरूको अध्ययन सामग्री तथा पढ्ने वातावरणसमेत नष्ट भएको उनले उल्लेख गरिन्।
सांसद गुरुङले गरिबको घर भत्काएर मात्र विकास सम्भव नहुने प्रश्न उठाउँदै सरकारलाई भूमिहीन र सुकुमबासीप्रति संवेदनशील बन्न आग्रह गरिन्। साथै संवाद र कानुनी प्रक्रियामार्फत समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन्।
सांसद गुरुङले बालबालिकाको शिक्षा पुनः सञ्चालन गर्न, बिरामी तथा ज्येष्ठ नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन र वास्तविक भूमिहीनको पहिचान गरी जग्गा व्यवस्थापनको काम शीघ्र टुङ्ग्याउन सरकारसँग माग गरिन्।
उनले बालबालिकाको भविष्यमाथि राजनीति नगर्न चेतावनी दिँदै कुनै पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिन सरकारसँग आग्रह गरिन्। बल प्रयोगभन्दा सामाजिक न्याय र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।






प्रतिक्रिया