काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको र प्रतिशोधको राजनीतिमा केन्द्रित भएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले विरोध जनाएपछि सभामुखले विपक्षी सांसदहरूलाई धारणा राख्न समय दिएका थिए। एमालेका तर्फबाट बोल्दै सांसद साजिदा खातुन सिद्धिकीले सरकार जनउत्तरदायी बन्न नसकेको आरोप लगाइन्।
सिद्धिकीले प्रधानमन्त्रीलाई ‘सडकको नभई देशको प्रधानमन्त्री’ बन्न आग्रह गर्दै संसद्को रोस्टमबाट देश र जनताको सम्मानमा सत्य कुरा बोल्न चुनौती दिइन्। उनले सरकारको कार्यशैली नसच्याइए छिट्टै असफल हुने चेतावनी समेत दिइन्।
प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने सांसदहरूको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। उक्त प्रक्रियाले सरकारलाई जवाफदेही, पारदर्शी र बलियो बनाउने भए पनि सरकार सदन र जनताप्रति उत्तरदायी नदेखिएको उनको भनाइ थियो।
‘यो प्रक्रियाले सरकारलाई जबाफदेही, पारदर्शी र बलियो बनाउँछ, तर सरकार सदन र जनताप्रति उत्तरदायी देखिएको छैन,’ सिद्धिकीले भनिन्।
एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि सुर्खेतमा गरिएको व्यवहार तथा सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी अनुसन्धान प्रक्रियाप्रति पनि सिद्धिकीले प्रश्न उठाइन्। प्रमाणबिना व्यक्तिको मानमर्दन गर्ने ढंगले सरकार अघि बढेको आरोप लगाउँदै उनले कुनै प्रमाण फेला नपरे त्यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न गरिन्।
यदि कुनै प्रमाण भेटिएन भने उहाँको सम्मान र मानहानिको क्षतिपूर्ति कसले दिन्छ रु झुटा विवरण खोज्दै हिँड्ने सरकारको बाटो गलत छ,’ उनले भनिन् ।
सांसद सिद्धिकीले कालापानी, लिपुलेक र सुस्तालगायत राष्ट्रिय महत्वका सीमा समस्या अझै समाधान हुन नसकेको बताइन्। सुस्तावासीहरू आफ्नो अधिकारका लागि माइतीघर मण्डलामा आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारका दाबी र यथार्थबीच ठूलो अन्तर रहेको टिप्पणी गरिन्।
उनले देशको वर्तमान आर्थिक अवस्था, बढ्दो महँगी, करको भार तथा सेयर बजारमा देखिएका समस्याले सर्वसाधारण त्रसित बनेको बताइन्। सरकारले राजस्व सङ्कलन र आर्थिक व्यवस्थापनमा आवश्यक गम्भीरता नदेखाएको आरोप लगाउँदै एमालेले जनताको समस्याप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।






प्रतिक्रिया