काठमाडौँ-सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे।
विधेयकको दफावार छलफलमा प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए । छलफलमा भाग लिने सांसदहरूले संशोधन पनि हालेका थिए।
अन्तिममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी, हरिमोहन भण्डारीले संशोधन फिर्ता लिएका थिए। बाँकी सांसदहरूका संशोधन अस्वीकृत भएका थिए।
सरकारले यससम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा पेस गरेको थियो।






प्रतिक्रिया