काठमाडौं-सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरूषोत्तम यादवले देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा रहेको भन्दै आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले लागूऔषधिको समस्याले विकराल रुप लिइरहेको जिकिर गरे।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले लागूऔषधिको समस्याले विकराल रुप लिइरहेको जिकिर गरे। ‘तथ्यांक अत्यन्तै डरलाग्दो छ। सिराहा जिल्लामा मात्रै पछिल्लो १५ दिनमा ६ वटा मुद्दा दर्ता भए, १२ जना पक्राउ परे र करिब ४१ किलो गाँजा, १०९ ग्राम खैरो हिरोइन बरामद भयो। एउटै जिल्लाको यो अवस्थाले देशकै चित्र झल्काउँछ,’ उनले भने।
यस विषयलाई आफूले पटकपटक उठाउँदा पनि सरकारले ध्यान नदिएको गुनासो गरे। ‘मैले राज्य व्यवस्था समितिदेखि सञ्चार माध्यमसम्म यो विषय उठाएको छु। तर सरकारसँग न स्पष्ट कार्ययोजना छ न त युवालाई बचाउने दृढ इच्छाशक्ति छ,’ यादवले भने।
यस विषयलाई लिएर सरकार कुम्भकर्ण निन्द्रामा रहेको उनको भनाइ थियो। ‘देशका युवा लागूऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निद्रामा छ। आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ,’ यादवले भने।
यसमा विशेष कार्ययोजना ल्याउन पनि सरकारलाई आग्रह गरे। ‘लागूऔषध नियन्त्रणको सफलता पक्राउ परेको संख्याले होइन, कुलतमा फस्ने युवा संख्या घटेको आधारमा मापन हुनुपर्छ,’ उनले भने, ‘त्यसैले तस्करीमाथि निर्मम कारबाही गर्दै नियन्त्रण गर्ने कार्ययोजना ल्याउन सरकारसँग माग गर्दछु।’






प्रतिक्रिया