अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद बरालको सरकारलाई प्रश्न- कर्णालीका जनता नेपाली हुन् कि होइनन् ?

सांसद बरालको सरकारलाई प्रश्न- कर्णालीका जनता नेपाली हुन् कि होइनन् ?


काठमाडौं-नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले कर्णालीप्रति राज्यले निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै सडक पूर्वाधार र नागरिक सुरक्षामा तत्काल ध्यान दिन सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालले प्रधानमन्त्री वालेन्द्र शाहले ‘कर्णालीका सुइना मेरा सुइना’ भन्ने नारामात्र दोहोर्याइरहेको टिप्पणी गर्दै कर्णालीका नागरिकलाई शिक्षा र स्वास्थ्यसँगै सुरक्षित सडकको अधिकार आवश्यक रहेको बताइन्।

सांसद बरालले भनिन्, ‘शिक्षा र स्वास्थ्य होइन, हिँड्ने बाटो देऊ भन्दा कर्णालीका जनताले भिख मागेजस्तै गर्नुपर्छ। हामी भिख माग्न आएका होइनौँ, अधिकार माग्न आएका हौँ। यो कुरामा ध्यान दिइयोस्।’

सांसद बरालले कर्णाली राजमार्गमा भएको पछिल्लो सवारी दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात रहेको भन्दै खोज तथा उद्धार कार्य प्रभावकारी नभएको गुनासो गरिन्।

उनले दुर्घटनामा परेकाको अवस्था उल्लेख गर्दै ‘७२ घण्टा भइसक्यो, न सास भेटिएको छ, न लास भेटिएको छ। कर्णालीको लासको थुप्रोलाई राज्यले हेरिरहेको छ,’ भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद बरालले कर्णालीका नागरिकप्रति राज्यको व्यवहारमाथि प्रश्न उठाउँदै ‘कर्णालीका जनता नेपाली हुन् कि होइनन् ? कर्णालीका जनताले बाँच्न पाउनुपर्छ कि पर्दैन ? कहिलेसम्म राज्यको आँखा पुग्छ ?’ भन्दै सरकारसँग जवाफ मागिन्।

सांसद बरालले कर्णालीका नागरिक बिहान घरबाट निस्कँदा साँझ सकुशल फर्कन सकिन्छ कि सकिँदैन भन्ने त्रासमा बाँच्न बाध्य भएको उल्लेख गर्दै सुरक्षित सडक, प्रभावकारी उद्धार प्रणाली र कर्णालीप्रतिको राज्यको प्राथमिकता बढाउन सरकारसँग आग्रह गरिन्।

Top of Form

Skip This