काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले कर्णालीमा भएको सवारी दुर्घटनाबारे गृहमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रसाईंले दुर्घटनाबारे सरकारको भूमिका र उद्धार कार्यको प्रभावकारिताबारे स्पष्ट पार्न गृहमन्त्रीलाई रोष्ट्रममा उभिएर जवाफ दिन सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे।
सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा राज्य त्यसबाट पन्छिन नपाउने बताए। नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यका लागि अरू केही हुन नसक्ने उनको भनाइ थियो।
सांसद प्रसाईंले हालै कर्णालीमा भएको दुर्घटनापछि सञ्चालन गरिएको उद्धार कार्यप्रति प्रश्न उठाउँदै राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे/नगरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरे। भीरमा अड्किएका नागरिकले हारगुहार गरिरहँदा उद्धारमा लापरवाही भएको आरोपबारे पनि छानबिन हुनुपर्ने उनले बताए।
संसद्मा बोल्दै सांसद प्रसाईंले कर्णालीका दुर्घटनाहरूलाई सामान्य समाचारका रूपमा लिन थालिएको भन्दै समाजमा बढ्दो असंवेदनशीलताप्रति चिन्ता व्यक्त गरे। ‘कुनै घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडा महसुस गरिन्छ, अरूको घरमा घट्दा त्यो केवल समाचार बन्ने गरेको छ,’ सांसद प्रसाईंले भने।
सांसद प्रसाईंले कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र यस्ता हृदयविदारक दुर्घटना पुनः नदोहोरिने गरी सरकारले के–कस्ता दीर्घकालीन योजना बनाएको छ भन्ने विषयमा पनि जवाफ माग गरे। उनले नागरिकको जीवनसँग जोडिएको यस विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्ने आवश्यकता औंल्याए।






प्रतिक्रिया