काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर सम्बोधन गरेका उनले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई भाइरल हुने बाटो त्याग्न आग्रह गरे ।
‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो । सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईं मात्र होइन सिंगो देश दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।
आङ्देम्बेले प्रधानमन्त्री शाहलाई संसदप्रति उत्तरदायी हुन आग्रह गरे। ‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो, त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँको सरकार यही संसदको विश्वासमा टिकेको हो, त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने, ‘बितेका १०० दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु । धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन । तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्याउने संसद बिर्सने, संसदलाई अवमूल्ययन गर्ने ?’
उनले प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपर्ने हो भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ भनेर प्रश्न पनि गरे। ‘संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ प्रधानमन्त्रीलाई लक्ष्य गर्दै उनको प्रश्न छ, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन ।’






प्रतिक्रिया