अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद कामीको प्रश्न– बस निलो हुँदैमा महिला सुरक्षित हुन्छन् र ?

सांसद कामीको प्रश्न– बस निलो हुँदैमा महिला सुरक्षित हुन्छन् र ?


काठमाडौं– नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले महिला सुरक्षाका लागि सार्वजनिक यातायातका बसको रङ निलो बनाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गर्दै सुरक्षा रङ परिवर्तनले नभई कानुनको प्रभावकारी कार्यान्वयनबाट सुनिश्चित हुने बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कामीले सरकारको उक्त निर्णयलाई ‘राजनीतिक स्टन्ट’को संज्ञा दिँदै महिलाको सुरक्षाजस्तो संवेदनशील विषयलाई सतही उपायबाट समाधान गर्न खोजिएको टिप्पणी गरिन्।

सांसद कामीले भनिन्, ‘महिलाको सुरक्षा बसको रङले सुनिश्चित हुन्छ कि कानुनको प्रभावकारी कार्यान्वयनले ? यदि बसको रङ परिवर्तन गरेर मात्रै सुरक्षा हुने भए समाजमा हुने अपराधहरू धेरै पहिले नै अन्त्य भइसक्थे।’

सांसद कामीले महिलालाई छुट्टै रङको बसभन्दा पनि हरेक सार्वजनिक स्थल, कार्यस्थल र यातायात क्षेत्रमा सम्मान, समता र सुरक्षा आवश्यक रहेको बताइन्। उनले महिलाविरुद्ध हुने हिंसा र दुर्व्यवहार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखिन्।

‘जनताले तिरेको कर रङ परिवर्तनमा होइन, वास्तविक सुरक्षा, कडा कानुनको कार्यान्वयन र आधारभूत सेवाको सुदृढीकरणमा खर्च गरिनुपर्छ,’ सांसद कामीले भनिन्।

सांसद कामीले महिला सुरक्षाका नाममा देखावटी कार्यक्रमभन्दा पनि परिणाममुखी नीति तथा कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।

Skip This