अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पद्मा अर्यालको प्रश्न- रास्वपा आफैंमा वासिङ मेसिन हो ? त्यहाँ पसेपछि सफा भइहाल्ने ?

पद्मा अर्यालको प्रश्न- रास्वपा आफैंमा वासिङ मेसिन हो ? त्यहाँ पसेपछि सफा भइहाल्ने ?


काठमाडौं– नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘वासिङ मेसिन’को संज्ञा दिँदै त्यहाँ प्रवेश गर्नेबित्तिकै सबै व्यक्ति ‘सफा’ हुनेजस्तो भाष्य निर्माण गरिएको टिप्पणी गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले रास्वपाले अघि सारेको ‘जान्नेलाई छान्ने’ नाराविपरीत व्यवहार देखिएको आरोप लगाइन्। उनका अनुसार सरकारले सक्षम व्यक्तिलाई पाखा लगाएर आफ्ना निकट व्यक्तिलाई अवसर दिने नीति अवलम्बन गरेको छ।

‘रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर जान्नेलाई फाल्ने र आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ,’ सांसद अर्यालले भनिन्।

सांसद अर्यालले सुशासनका नाममा सरकारले प्रतिपक्षी दलमाथि राजनीतिक पूर्वाग्रह राखेर काम गरेको आरोपसमेत लगाएकी छन्।

अर्यालले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू अध्यादेशमार्फत हटाइएको भए पनि अहिले सोही सरकारले आफ्ना पक्षका व्यक्तिलाई नियुक्ति दिइरहेको आरोप लगाइन्। चुनावमा पराजित भएका व्यक्तिहरूलाई समेत विभिन्न पदमा नियुक्त गरिएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।

उनले रास्वपामाथि कटाक्ष गर्दै भनिन्, ‘पहिले गलत देखिएका र भनिएका व्यक्ति रास्वपामा पुगेपछि एकाएक राम्रा ठहरिन थालेका छन्। रास्वपा वासिङ मेसिन हो र ? त्यहाँ पसेपछि सबै ठीक भइहाल्ने ?’

सुशासनको नारा दिएर सरकारमा पुगेको रास्वपाले पछिल्ला सय दिनमा अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै अर्यालले सरकारको कार्यसम्पादन ‘तमासा’मा सीमित भएको टिप्पणी गरिन्।

सम्पत्ति छानबिन आयोग गठनको प्रसंग उल्लेख गर्दै उनले आफ्ना निकट व्यक्तिलाई छानबिनको दायराबाहिर राख्ने प्रयास भएको आरोप समेत लगाइन्। ‘आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयले सुशासनको तमासा र आयोग गठनको वास्तविक नियत प्रस्ट पारेको छ,’ उनले भनिन्।

अर्यालले सरकार सय दिन नपुग्दै जनअपेक्षा पूरा गर्न असफल भएको दाबी गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता व्यवहारमा देखाउन सरकारलाई चुनौती दिइन्।

Skip This