काठमाडौं-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गत निर्वाचनमा पराजितहरूलाई भटाभट नियुक्ति गरिरहेको आरोप लगाइकी छिन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उपनेता अर्यालले यसअघिका राजनीतिक नियुक्तलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले आफ्नालाई भटाभट नियुक्ति दिइरहेको बताइन्।
‘याे सरकारले चुनाव हारेकालाई भटाभट नियुक्त गर्दै छ,’ अर्यालले भनिन्, ‘सरकार सय दिनमै चुकेको छ। रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ।’
उनले सरकारका सय दिनमा रास्वपाले लगाएको नाराभन्दा उल्टो काम भएको उनले बताइन्। यसअघि गलत देखिएका र भनिएका व्यक्तिलाई रास्वपामा लाग्ने वित्तिकै राम्रा भन्न थालिएको उनको भनाइ थियो ।
सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको बताउँदै अर्यालले आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रस्ट देखिएको उल्लेख गरिन् ।






प्रतिक्रिया