अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाकै सांसदको प्रश्न– गृहमन्त्रीका स्वकीय सचिवले किन उठाउँदैनन् नागरिकको फोन ?

रास्वपाकै सांसदको प्रश्न– गृहमन्त्रीका स्वकीय सचिवले किन उठाउँदैनन् नागरिकको फोन ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन्।

उनले गृहमन्त्री सुधन गुरुङको सचिवालयमाथि प्रश्न उठाइन्। उनले भनिन्, ‘जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरहेका छन्।’

उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको बताउँदै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।

‘जनताको समस्या सुन्ने सरकारको प्रथम जिम्मेवारी हो। यदि नागरिकले समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाट नै यस्ता गैरजिम्मेवारपूर्ण व्यवहार प्राप्त गर्छन् भने त्यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ,’ उनले भनिन्।

त्यस्तै, सांसद बानुले सत्तापक्ष पार्टीका सभापति रवि लामिछानेले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गर्दै समाधानका लागि गरेको पहलको प्रशंसा पनि गरेकी छन् ।

‘सत्तापक्ष पार्टीका सभापति रवि लामिछानेज्यूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गरेर समाधानका निम्ति जुन सहकार्य र पहल गर्नुभएको छ, त्यो प्रशंसायोग्य छ। त्यसले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ,’ उनले भनिन्।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

Skip This