काठमाडौं-नेकपा एमालेले दलाई लामाको ९१औँ जन्मदिन मनाउन सरकारले अनुमति दिएको विषयलाई लिएर आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दिएको आरोप लगाए।
प्रमुख सचेतक महरले नेपालले सदियौँदेखि अवलम्बन गर्दै आएको एक चीन नीताविपरीत चीनबाट सन् १९५९ मा निर्वासित भई विदेशमा बस्दै आएका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएको आरोप लगाए।
उनले यही असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अनुमति दिइनु नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता कायम रहेको सुमधुर सम्बन्धलाई प्रभावित पार्ने राष्ट्रहितविरोधी कार्य भएको दाबी गरे।
‘नेपालले सदियौँदेखि अवलम्बन गरेको एक चीन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर गएका, विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको ९१औँ जन्मदिन मनाउन वर्तमान सरकारले यही असार २२ गते नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दियो।’
उनले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन तथा अष्ट्रेलियाली राजदूतहरूको समेत सहभागिता अत्यन्त गम्भीर र आपत्तिजनक रहेको बताए।
उनले भने, ‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री रूपमा कति षड्यन्त्रमा लागिरहेका छन् भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ। नेपालको भूमिमा आएर हामी हाम्रो भूमि छिमेकीहरूका विरुद्धमा प्रयोग गर्न कसैलाई दिँदैनौँ पनि र त्यो अधिकार कसैलाई पनि छैन।’
उनले बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरुद्ध गएको हो ? भन्दै सरकारलाई प्रश्न गरेको छ। महले सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए।
उनले भने, ‘चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले पनि यस सन्दर्भमा विज्ञप्ति निकालेर विरोध गर्नुभएको छ। के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ? यो स्पष्ट पार्नुपर्यो। के वर्तमान सरकारको छिमेकीसँगको परराष्ट्र नीति परिवर्तन भएको हो? यो कुराको जवाफ यो सरकारले दिनुपर्दछ।’
महरले उक्त राष्ट्रहित विरोधी कामको एमालेले विरोध गर्ने भन्दै त्यसबारे चीनका लागि सात पूर्व राजदूतहरूले समेत विरोध गरेको बताए ।






प्रतिक्रिया