अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको निधन राज्यको असफलताको परिणाम: एमाले सांसद सुब्बा

गणेश नेपालीको निधन राज्यको असफलताको परिणाम: एमाले सांसद सुब्बा


काठमाडौं–नेकपा (एमाले)की सांसद भूमिका लिम्बु सुब्बाले मुगुका २५ वर्षीय युवक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनलाई राज्यको असफलताको परिणाम भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुब्बाले ट्राफिक जरिवानास्वरूप १० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था र राज्यका निकायबाट भएको दबाबका कारण एक युवाले मृत्यु रोज्न बाध्य हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय भएको उल्लेख गरिन्।

उनले ट्राफिक जरिवानास्वरूप १० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था, प्रशासनिक दबाब र नागरिकले भोग्नुपरेका विभिन्न समस्याले एक युवा जीवन समाप्त हुन पुगेको भन्दै यस घटनालाई सामान्य रूपमा लिन नहुने धारणा राखिन्।

‘यो केवल एक व्यक्तिको मृत्यु होइन, राज्यको उत्तरदायित्व र मानवीय संवेदनामाथिको गम्भीर प्रहार हो,’ सांसद सुब्बाले भनिन्।

उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै नागरिकलाई निराशा, दबाब र अन्यायको अनुभूति गराउने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताइन्। राज्यका निकायहरूले नागरिकप्रति संवेदनशील व्यवहार गर्नुपर्ने र यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा पनि उनले जोड दिइन्।

सांसद सुब्बाले दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी थिइन्।

सांसद सुब्बाले राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर नभएको बताइन् ।

सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति र छिमेकी मुलुकबाट भइरहेका अवाञ्छित गतिविधिप्रति सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाइन् । 

सांसद सुब्बाले २०८३ जेठ १७ गते प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको निरन्तर विरोध गर्दै सुस्ता र दार्चुलामा भइरहेका हस्तक्षेपबारे सरकारको जवाफ माग गरिन् । 

‘सुस्तामा भारतीय सीमा सुरक्षा बल पूर्वसूचना बिना प्रवेश गरेको छ र दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकप्टरले नेपालको अनुमति बिना उडान भरेको छ,’ सांसद सुब्बाले भनिन्–  ‘अन्तर्राष्ट्रिय कानुनको यो गम्भीर उल्लङ्घनबारे सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ कि छैन ? छ भने जवाफ के आयो र छैन भने किन पठाइएन ।’

दलाई लामाको ९१ औँ जन्मोत्सवमा देशका जिम्मेवार व्यक्तिहरूको संलग्नताले नेपालको एक चीन नीति र कूटनीतिक विश्वसनीयतामा प्रश्न उठाएको बताइन् । यस्ता संवेदनशील विषयमा सरकारले मौनता साधेर बस्न नहुने उनको तर्क थियो।

पछिल्लो समय पुराना र नयाँ दलबिच कृत्रिम विभाजनको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले पुराना दलहरूकै सङ्घर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान आएको दाबी गरिन् । 

 सांसद सुब्बाले नेपालको एक इन्च भूमि, नेपाली आकाश र सार्वभौमसत्ताको रक्षाका लागि एमाले सधैँ अडिग रहने बताइन् । उनले प्रधानमन्त्रीलाई आफ्ना विवादास्पद अभिव्यक्ति सच्याउन र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन सभामुखमार्फत आग्रह गरिन् ।

गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको हो। उक्त घटनापछि संसददेखि सामाजिक सञ्जालसम्म राज्यको सेवा प्रणाली, नागरिकमाथिको व्यवहार र प्रशासनिक जिम्मेवारीबारे व्यापक बहस सुरु भएको छ।

Skip This