काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना, प्रशासनिक दबाब तथा राज्यको संवेदनहीन व्यवहारका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको दाबी गरिन्।
उनले मोटरसाइकल पार्किङ गरेको विषयमा गणेश नेपालीलाई १० हजार रुपैयाँ जरिवाना तिर्न लगाइएको र त्यसबाट सिर्जित मानसिक तनावले उनलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको बताइन्।
‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ सांसद विकले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’
सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभई राज्यको उत्तरदायित्व, प्रशासनिक व्यवहार र सामाजिक विवेकमाथि उठेको गम्भीर प्रश्न भएको बताइन्। उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।
उनले यस्ता घटनाले राज्य र नागरिकबीचको विश्वास कमजोर बनाउने भन्दै जनतामाथि प्रशासनिक निर्णय र कारबाही गर्दा मानवीय संवेदनशीलता तथा न्यायपूर्ण व्यवहार अपनाउन सरकारलाई आग्रह गरिन्।
सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनको भनाइ थियो।
यस्तै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश र दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले विना अनुमति उडान भरेको विषयमा कूटनीतिक नोट पठाइयो कि पठाइएन भन्ने प्रश्न पनि उनले गरिन् ।






प्रतिक्रिया