काठमाडौं-राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ? भन्दै प्रश्न गरे।
‘गृहमन्त्रीज्यू तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो। साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो,’ सांसद शाहीले भने ।
सांसद शाहीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा स्टन्ट देखाएको भन्दै आपत्ति प्रकट गरे। सांसद शाहीले गृहमन्त्री हिजो एयरपोर्टमा क्यामेरा लिएर दौडिएको बताए।
उनले गृहमन्त्रीको आदेशले जनता बाँच्यो कि बाँचेन भन्ने मुख्य कुरा भएको बताए । उनले मन्त्रीहरूलाई सडकमा चटक नदेखाउन आग्रह गरे । ‘गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु,’ उनले भने ।
सरकारले पछिल्लो समय जनताको जीवन कठिन बनाउँदै लगेको आरोप लगाए।
उनले भने, ‘सरकारको नारा अत्यन्त राम्रो छ गरिबको चमेली, बोल्दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार, तर आज गरिब दुःखी जनतालाई सरकारले कर माथि कर थपेर आज बिचल्ली अवस्था पुर्याएको छ। म भन्छु गरिब दुःखी जनताको आँसु पुछिदे सरकार भन्छु।’
गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाह गरेको उनको भनाइ छ । सांसद शाहीले यसलाई राज्यको नीतिले गराएको हत्याको संज्ञा दिए । ‘१० हजार जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने ? यो कस्तो न्याय हो ?’ शाहीले भने ।






प्रतिक्रिया