अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको मृत्युपछि महरको आरोप- स्टन्टबाजीमा व्यस्त सरकारले नागरिक बचाउन सकेन

गणेश नेपालीको मृत्युपछि महरको आरोप- स्टन्टबाजीमा व्यस्त सरकारले नागरिक बचाउन सकेन


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिँदै वर्तमान सरकारमाथि तीव्र आलोचना गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै महरले सरकारको कार्यशैलीका कारण नागरिकहरू आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भएको आरोप लगाए। उनले संसद्मै सरकारविरुद्ध नाराबाजी गर्दै गणेश नेपालीको मृत्युको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ। राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ,’ महरले भने, ‘सुकुमबासी हुन् वा गणेश नेपाली, नागरिकहरूलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ। यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ।’

गृहमन्त्री र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले सरकार जनताको सुरक्षाभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाए। सरकारका सय दिनका उपलब्धि गनिरहँदा गरिब तथा विपन्न वर्गका लागि आवश्यक स्वास्थ्य बिमा कार्यक्रमसमेत कटौती गरिएको भन्दै उनले सरकारको नैतिकतामाथि प्रश्न उठाए।

महरले निरंकुश राणा शासनविरुद्ध संघर्ष गर्दै योगमाया न्यौपानेले जलसमाधि लिएको ऐतिहासिक प्रसङ्ग स्मरण गराउँदै गणेश नेपालीको आत्मदाहले पनि वर्तमान सरकारको असफलता उजागर गरेको दाबी गरे। उनले गणेश नेपालीको घटनाले जनआक्रोश बढाउने र अन्ततः सरकारको अन्त्य सुनिश्चित गर्ने दाबीसमेत गरे।

आफ्नो सम्बोधनको अन्त्यमा महर झन् आक्रोशित देखिए। उनले सरकार जनताको पक्षमा नभई जनतामाथि अन्याय गर्ने दिशामा अघि बढेको आरोप लगाउँदै संसद्मै ‘यो सरकार मुर्दावाद’ भन्ने नाराबाजी गरे।

गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि उक्त घटनाले राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ। सत्ता र प्रतिपक्षका सांसदहरूले घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरिरहेका छन्।

Skip This