अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्मा शाहीको आक्रोश: सरकारले गरिबलाई आत्मदाह गर्न बाध्य पार्‍यो

संसद्मा शाहीको आक्रोश: सरकारले गरिबलाई आत्मदाह गर्न बाध्य पार्‍यो

कांग्रेस सांसद शाहीद्वारा आन्दोलनमा आउन आह्वान


काठमाडौं-नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीले सरकारले हैकमवादी शैलीमा शासन चलाएको आरोप लगाउँदै मुगुका नागरिकसहित सम्पूर्ण नेपालीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारका कारण गरिब र निमुखा नागरिकहरू पीडित बनेको दाबी गरे। उनले मुगुका युवा गणेश नेपालीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाए।

‘सरकारले गरिब जनतालाई रुवाएको छ। यसका विरुद्धमा मैले मुगुका जनताहरू र आत्मभावना तथा मनमा दया–माया भएका सम्पूर्ण नेपालीलाई आन्दोलनका निम्ति वीर अस्पताल आउनुस् भनेर आह्वान गरेको छु,’ उनले संसद्मा भने।

सांसद शाहीले सरकारकै नीतिका कारण गरिब नागरिकहरू आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भएको आरोप लगाए। उनले गणेश नेपालीको मृत्यु हिजै भइसकेको दाबी गर्दै सरकारले त्यसलाई ढाकछोप गर्न खोजेको आरोपसमेत लगाए।

उनले बिहीबार साँझ वीर अस्पताल पुगेर गणेशको अवस्था बुझ्दा चिकित्सकहरूले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी दिएको बताए। ‘डाक्टरले करिब ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो,’ उनले भने।

शाहीले गृहमन्त्रीसहित सरकारी अधिकारीहरूले रातभरि अस्पताल र विमानस्थल धाएर ‘स्टन्टबाजी’ गरेको आरोप लगाउँदै गणेशको मृत्यु राति नै भइसके पनि बिहानसम्म सार्वजनिक नगरिएको दाबी गरे।

‘गणेश नेपाली राति नै बितिसकेका रहेछन्, तर बिहानसम्म घोषणा गरिएन,’ उनले भने, ‘हामी गएर स्वास्थ्यमन्त्री, अस्पतालका डीन र चिकित्सकहरूसँग बसेर मृत्यु भएको भए किन घोषणा नगरेको भनेर प्रश्न गरेका थियौं।’

सांसद शाहीले घटनाबारे निष्पक्ष छानबिन गर्न र सरकारको भूमिकाबारे स्पष्ट जवाफ दिन पनि माग गरेका छन्।

Skip This