काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नागरिकलाई निराशा र पीडाको चरम अवस्थामा पुर्याएर आत्महत्या गर्न बाध्य बनाउनु गोली हानेर हत्या गरेसरह भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले मानिसको जीवन समाप्त पार्ने जो–कोही पनि हत्यारा नै हुने दाबी गरे। उनले भने, ‘मान्छेको हत्या गोली हानेर मात्रै हुँदैन। कुनै नागरिकको बाँच्ने आधार खोसेर, उसको रोजीरोटी बन्द गरेर उसलाई यस्तो निराशा र पीडामा पुर्याइयो कि ऊ आत्महत्या गर्न बाध्य होस् भने त्यो गतिविधि पनि गोली हानेसरह हो।’
उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छे ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको ज्यानभन्दा नियम ठूलो’ भन्न थालेको आरोप लगाउँदै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। कानुन र नियम नागरिकको जीवन रक्षा गर्नका लागि बन्नुपर्ने उल्लेख गर्दै उनले “मान्छेको जीवनभन्दा ठूलो न सत्ता हुन्छ, न पद, न कानुनको दम्भ र न कसैको लोकप्रियता” भन्ने धारणा राखे।
शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने तर सिट बेल्ट नलगाई सवारी चलाउने प्रधानमन्त्री र गृहमन्त्रीमाथि किन कारबाही नहुने भन्दै प्रश्न उठाए। ‘न्याय सबैका लागि बराबर हुनुपर्छ,’ उनले भने।
यसैबीच, उनले सरकारले सम्पत्ति छानबिनको विषयलाई पनि राजनीतिकरण गरेको आरोप लगाए। आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन नहुने नीति बनाइएको भन्दै उनले त्यसलाई राजनीतिक हस्तक्षेपको उदाहरणका रूपमा चित्रित गरे।
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय उठाउँदै शाहीले सरकारले पारदर्शिताभन्दा राजनीतिक स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए। ‘सबैको सम्पत्ति छानबिन गर्छु भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भन्ने नीति बनाउने कार्य राजनीतिकरण हो,’ उनले भने।
उनले अरूको सम्पत्ति छानबिनका लागि समिति माग्ने, तर आफ्नै विषयमा विवाद भएपछि आफैँ समिति बनाउने, सदस्यहरूलाई दबाब दिने, आफूलाई निर्दोष देखाउने र प्रतिवेदन लुकाउने गतिविधिलाई पनि राजनीतिकरणको संज्ञा दिए।
कर्णालीमा भिरमा अड्किएका नागरिकको उद्धार जस्ता कामलाई राजनीति नभई सेवा भएको उल्लेख गर्दै उनले आफूहरू सेवा र जनहितको भावनाका साथ राजनीतिमा आएको बताए। भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा विभिन्न आक्रमण सामना गर्नुपरे पनि कसैलाई हानि नपुर्याएको उनको भनाइ थियो।
शाहीले राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा जोड दिँदै सरकारलाई जनजीवनको संरक्षण र हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। साथै, प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको राष्ट्रहितविपरीत अभिव्यक्तिप्रति राप्रपाको विरोध यथावत रहेको पनि उनले बताए।






प्रतिक्रिया