अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार निरंकुशताको बाटोमा हिँड्दैछ, नागरिकको प्रश्न सुन्नुपर्छ: सांसद निश्कल राई

सरकार निरंकुशताको बाटोमा हिँड्दैछ, नागरिकको प्रश्न सुन्नुपर्छ: सांसद निश्कल राई


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले लोकतन्त्रमा प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउने प्रवृत्ति खतरनाक हुने चेतावनी दिए। उनले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न र सत्य बोल्नेलाई अपराधी ठहर गर्ने शासन व्यवस्था अन्ततः पतन हुने बताए।

‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,’ उनले संसद्मा भने।

राईले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाले गरेको आन्दोलन स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका युवामाथि अहिले प्रश्न गर्न नदिने प्रयास भइरहेको आरोप लगाए। ‘जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ,’ उनले भने।

उनले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए। नगरप्रहरीसँगको विवादपछि भएको उक्त घटनाले सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो।

सांसद राईले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए। नागरिकको ज्यान गुमेको घटनामा सरकारले आत्मसमीक्षा गर्नुपर्नेमा उल्टै प्रश्न उठाउनेमाथि दबाब सिर्जना गरिएको उनले बताए।

उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा भावनात्मक भएर सांसदहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए।

राईले १८२ सिटको बहुमतले सरकारलाई संविधान उल्लंघन गर्ने अधिकार नदिने स्पष्ट पारे। “बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन। प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन,” उनले भने।

राज्यका संरचनाहरू सत्तारूढ दलको प्रभावमा पर्दै गएको दाबी गर्दै उनले प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा चल्न थाले राज्य र सत्ताबीचको सीमाना मेटिने चेतावनी दिए।

सांसद राईले सरकारलाई निरंकुशताको बाटो त्यागेर नागरिक केन्द्रित शासन सञ्चालन गर्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए।

Skip This