अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाकै सांसद अमरेश सिंहले भने- जनतामा आशा जगाउन सरकार असफल

रास्वपाकै सांसद अमरेश सिंहले भने- जनतामा आशा जगाउन सरकार असफल


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारले पनि जनतामा आशा जगाउन नसकेको भन्दै मुलुकमा निराशा बढ्दै गएको बताएका छन्। उनले व्यवसायी, युवा, विद्यार्थी तथा आम नागरिकमा बढ्दो असन्तुष्टि र निराशाले देश सङ्कटतर्फ धकेलिएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहपछि भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरे। पछिल्लो एक सातामा तीन युवाले आत्मदाह गरेको उल्लेख गर्दै उनले यसले मुलुकमा बढ्दो निराशाको अवस्था उजागर गरेको बताए।

‘म भारी र दुःखी मन लिएर आजको संसद् बैठकमा उपस्थित भएको छु,’ उनले भने, ‘हामी राज्य सञ्चालन गरिरहेका छौँ, तर जनतामा चरम निराशा छ। यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य निर्माण हुँदै गएको छ।’

सभामुख डीपी अर्यालले बैठक सुरु गरेलगत्तै सरकारको कामकारबाहीप्रति विरोध जनाउँदै विपक्षी सांसदहरूसँगै उभिएका सिंहले संसद्बाट निराशा होइन, आशा र विश्वासको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए। उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहे मात्रै राजनीति सम्भव हुने भन्दै लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।

सिंहले सत्ता र प्रतिपक्ष स्थायी नहुने उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको धारणा राखे।

‘म सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्छु, यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता र लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला, तर सत्ता र प्रतिपक्ष स्थायी होइन,’ उनले भने।

उनले संसद्भित्र र संसद्बाहिर रहेका सबै राजनीतिक दललाई एकै ठाउँमा उभिएर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गर्दै जनतामा आशा जगाउने वातावरण निर्माण गर्नुपर्ने बताए।

‘जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र, संविधान र लोकतन्त्र बच्न सक्छ। देशको निराशा हटाउन र देश निर्माणको जिम्मेवारी पूरा गर्न सबै दल एकजुट हुन आवश्यक छ,’ उनले भने।

Skip This