काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहहरूलाई लक्षित गर्दै गरिएको अवरोधपूर्ण गतिविधिको निन्दा गर्दै प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै परियारले राजधानीका केही सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत अवरुद्ध बनाउने प्रयास गरिएको घटनाप्रति आपत्ति जनाए। उनले सत्यसँग डराउनेहरूले मात्रै यस्ता गतिविधि गर्ने टिप्पणी गर्दै सञ्चारमाध्यमलाई तर्साएर सत्य लुकाउन नसकिने बताए।
‘हिजो राजधानीमा अग्रणी सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै गाडी पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पार्ने र सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरियो। म यसको कडा शब्दमा भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्रै यस्तो हर्कत गर्छन्,’ उनले भने।
परियारले लोकतन्त्रको संरक्षणका लागि स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्ता वा स्वार्थका नाममा प्रेसमाथि हुने कुनै पनि प्रकारको त्रास र अराजकताको विरोध गर्नुपर्ने बताए। ‘हामी सत्तामा छौं भन्दैमा वा कसैका स्वार्थ ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्। लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर हुनुपर्छ,’ उनले भने।
उनले नेपाली पत्रकारिताले विगतमा निरंकुश शासन र सेन्सरशिपको सामना गर्दै आजको अवस्था हासिल गरेको स्मरण गर्दै केही गाडी तेर्स्याएर प्रेसलाई डराउन नसकिने बताए। परियारले रास्वपा पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा रहेको स्पष्ट गर्दै सञ्चारकर्मी र सञ्चारगृहको निर्बाध काम गर्ने अधिकार सुनिश्चित गर्न गृह प्रशासन र सरकारको ध्यानाकर्षणसमेत गराए।






प्रतिक्रिया