अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐन महरले सदनमा भने- मलाई गोली हानेर मार्ने धम्की आयो

ऐन महरले सदनमा भने- मलाई गोली हानेर मार्ने धम्की आयो


काठमाडौँ-नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई गोली हान्ने धम्की आएको जानकारी दिएका हुन्। 

सदनमा सम्बोधन गर्दै प्रमुख सचेतक महरले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए। महरले सदनमा आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत सार्वजनिक गरेका छन्। उनका अनुसार पराजुली राम नामको फेसबुक आईडीबाट उनलाई गोली हान्ने धम्की दिइएको छ।

‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौँ, जनताको कुरा बोल्न। हामी निरपेक्ष रुपमा सरकारको विरोध गर्दैनौँ,’ महरले भने, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं।’

तर, आफूले संसद्मा बोलेको कुरालाई लिएर धम्की आइरहेको उनले बताए। ‘बिडम्बना, सरकारमा बोलिरहँदा केही मान्छेलाई सरकारको विरोध गरेको आभाष हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ। गोली हानिदिन्छु, मारिदिन्छु भन्या छ,’ उनले भने। 

आज पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ज्यान मार्ने धम्की आएको उनले सुनाए। ‘भरखरै मात्रै दुई जनाले मेरो स्टाटस्मा कमेन्ट गर्नु भएको छ,’ उनले कमेन्ट पढेर सुनाए, ‘ऐन महर, आमा कसम, तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभाछ, ठेगाना पनि दिनुभाछ, आजै भन्नुभाछ।’

गोली हानेर ज्यान मार्ने धम्की दिने व्यक्तिले कमेन्टमा आफ्नो नम्बर र ठेगाना पनि राखेका छन्। महरले पढेर सुनाए, ‘पराजुली भन्ने नामबाट आएको छ। नम्बर ९७०३०९०३७७, काठमाडौँ महाकाल बौद्ध संगम चोक बस्ने भन्नु भाछ।’

त्यस्तै, अर्का व्यक्तिले पनि गोली हान्ने धम्की दिएको उनले सुनाए। सांसद महरले भने, ‘अर्को, पूर्णविक्रम क्षेत्रीबाट पनि गोली हान्ने धम्की आएको छ।’

Skip This