काठमाडौँ–नेकपा (एमाले)का सांसद राजेन्द्र राईले वर्षौँदेखि राज्यको सेवा प्रवाहमा खटिँदै आएका करार तथा अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारको यस्तो कदमले हजारौँ परिवारको भविष्य अन्योलमा पार्ने भन्दै सरकारलाई गम्भीर प्रश्न गरेका छन्।
सांसद राईले बुधबार अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीहरूसँग भएको छलफलको अनुभव सुनाउँदै उनीहरूको चिन्ता र पीडाप्रति सरकार संवेदनशील हुनुपर्ने बताए। ‘आफ्नो जीवनको महत्वपूर्ण समय राज्य र जनताको सेवामा समर्पित गरेका कर्मचारीहरूलाई एकाएक सेवाबाट हटाउने तयारी किन गरिँदैछ ? उनीहरूको भविष्यको जिम्मा कसले लिने ?’ भन्दै सांसद राईले सरकारसँग जवाफ मागे।
सांसद राईले मुलुकमा बेरोजगारी बढ्दो क्रममा रहेको र दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला स्वदेशमै न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीहरूको रोजगारी खोस्नु न्यायसंगत हुन नसक्ने बताए। ‘एकातिर सरकारले युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्छ, अर्कोतिर वर्षौँदेखि काम गरिरहेका कर्मचारीलाई सडकमा ल्याउने तयारी गर्छ। सरकारको यो दोहोरो नीति किन ?’ सांसद राईले प्रश्न गरे।
सांसद राईले करार तथा अस्थायी कर्मचारीहरूको सेवाको मूल्यांकन गरी उनीहरूलाई प्राथमिकता दिने व्यवस्था गर्न सरकारसँग माग गर्दै रोजगारी सुरक्षा सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले कर्मचारीहरूको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिँदै ‘रोजगारी सिर्जना गर्न नसक्ने सरकारले भएको रोजगारीसमेत खोस्न मिल्छ ?’ भन्ने प्रश्न संसद्मा उठाएका छन्।






प्रतिक्रिया