काठमाडौं-नेकपा एमालेले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने प्रश्न उठाएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले काठमाडौंमा गोली चलेको घटनापछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा तथा थुनाको माग गरिएको प्रसंग स्मरण गराउँदै सुनसरी घटनामा पनि वर्तमान सरकारमाथि समान नैतिक मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न गरिन्।
उनले २०८३ साउन १० गते सुनसरीमा भएको गोलीकाण्ड राज्यको शान्ति–सुरक्षा कायम गर्न असफल भएको उदाहरण भएको टिप्पणी गर्दै दङ्गा नियन्त्रण दमनबाट नभई संवाद र विश्वासका माध्यमबाट हुनुपर्ने बताइन्।
‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने भन्ने आवाज उठाइयो। अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि थुनामा बस्नुपर्छ कि पर्दैन ? यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ भन्दै अर्यालले सरकारसँग प्रश्न गरिन्।
उनले राज्यले संवाद र विश्वासको वातावरण निर्माण गर्नुको सट्टा त्रास सिर्जना गरेको आरोप लगाउँदै आवेग र उत्तेजनामा नभई संयमता अपनाएर शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गरिन्।
‘दङ्गा नियन्त्रण दमनले होइन, संवाद र विश्वासबाट हुनुपर्छ’, अर्यालले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको छ।’ उनले संवाद र विश्वासको सट्टा राज्य आफैले त्रास सिर्जना गरेको भन्दै आवेग उत्तेजना होइन, संयम अपनाएर शान्ति र सद्भावमा जुट्न आह्वान गरिन् ।
अर्यालले मुलुक संकटमा पर्दा प्रधानमन्त्री र सरकार जनतासँग प्रत्यक्ष संवादमा आउनुपर्ने उल्लेख गर्दै राष्ट्रिय संकटका बेला सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले टीकापुर, गौर र वीरगञ्जलगायतका विगतका जटिल घटनामा राष्ट्रिय एकता कायम गर्न प्रयास गरिएको स्मरण गराउँदै अहिले पनि शान्ति र सद्भाव कायम गर्न एमाले सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरिन्।


प्रतिक्रिया