अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद घतानीको प्रश्न- दलितको आवाज सरकारका लागि सुन्न नपर्ने आवाज हो ?

सांसद घतानीको प्रश्न- दलितको आवाज सरकारका लागि सुन्न नपर्ने आवाज हो ?


काठमाडौं-नेकपा एमालेकी सांसद निता घतानीले माइतीघर मण्डलामा १०३ दिनदेखि शान्तिपूर्ण सत्याग्रहमा रहेकी दीपा नेपालीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद घतानीले एक जना नागरिक तीन महिनाभन्दा बढी समयदेखि सडकमा सत्याग्रहमा बसिरहँदा पनि सरकारले कुनै चासो नदेखाउनु लज्जास्पद भएको बताइन्।

‘सरकार, कोठा खाली छ भन्दै दीपा नेपाली १०३ दिनदेखि माइतीघर मण्डलामा सत्याग्रहमा छिन्,’ सांसद घतानीले भनिन्, ‘यो १०३ दिन कुनै सामान्य होइन, यो सरकारको मौनता, उदासीनता र असफलताको हिसाब हो। सरकारलाई सोध्न चाहन्छु, सिंहदरबारबाट माइतीघर मण्डला पुग्न यति कठिन छ र ?’

सांसद घतानीले मुलुकको १३ प्रतिशत दलित समुदायको आवाजलाई सरकारले निरन्तर बेवास्ता गरेको आरोप लगाइन्। उच्च शिक्षा अध्ययनका लागि सहर आएका दलित विद्यार्थीहरू अझै पनि जातका आधारमा कोठा नपाएर गाउँ फर्किन बाध्य भइरहेको उल्लेख गर्दै उनले दीपा नेपालीको सत्याग्रह त्यही विभेद, अपमान र पीडाविरुद्धको आवाज भएको बताइन्।

‘के १३ प्रतिशत दलित समुदायको आवाज सरकारका लागि सुन्न नपर्ने आवाज हो ?’ भन्दै उनले सरकारसँग प्रश्न गरिन्। ‘आज पनि उच्च शिक्षा हासिल गर्न सहर आएका दलित विद्यार्थीहरू जातका आधारमा कोठा नपाएर गाउँ फर्कन बाध्य छन् । यही विभेद, अपमान र पीडा विरुद्ध दीपा नेपाली सडकमा छिन्।’

उनले सरकारलाई दीपा नेपालीलाई अर्को कुनै दुःखद घटनाको प्रतीक नबनाउन पनि आग्रह गरिन्। ‘के सरकार दीपा नेपालीको आवाज सुन्न कुनै अप्रिय घटनाको पर्खाइमा छ ? एक जना नागरिक १०३ दिनसम्म सत्याग्रहमा बस्दा पनि राज्यको संवेदनशीलता कहाँ छ ?’ उनले भनिन्।

सांसद घतानीले दीपा नेपालीमाथिको बेवास्ता केवल एक व्यक्तिमाथिको अपमान नभई समग्र १३ प्रतिशत दलित समुदायको आत्मसम्मानमाथिको अपमान भएको जिकिर गरिन्। उनले सरकारलाई तत्काल दीपा नेपालीसँग संवाद गर्न र उनले उठाएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न आग्रह गरिन्।

Top of Form

Bottom of Form