काठमाडौं-नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना तथा तराई-मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैरजिम्मेवारीका कारण देश गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
आफ्नो गृह जिल्ला सिरहाको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै सांसद कर्णले पछिल्ला घटनाले सर्वसाधारण त्रसित बनेको बताए। ‘घर सम्झिँदा मन दुख्छ। चारैतिर रगत बगिरहेको छ। घरबाट निस्कनसमेत नसकिने अवस्था रहेको जानकारी आएको छ दर्जनौँ घाइते छन्। यस्तो पीडामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन,’ सांसद कर्णले भने। सिरहाको गोलबजारमा भएको घटनामा गणेश यादवको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा अन्य प्राविधिक विषयमा बोल्न उपयुक्त नठानेको बताए।
सांसद कर्णले देवानगञ्जको घटनाबारे सरकारलाई एक महिनाअघिदेखि जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले आवश्यक चासो नदिएको आरोप लगाए। प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको र गृहमन्त्रीले गम्भीर समस्याप्रति उदासीनता देखाएको उनको भनाइ थियो।
‘दमनबाट समस्याको समाधान हुँदैन। जहाँ असन्तुष्टि र द्वन्द्व छ, त्यहाँ संवाद र छलफलमार्फत समाधान खोजिनुपर्छ,’ उनले भने।
सांसद कर्णले राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने नजिर विगतमा स्थापित भएको स्मरण गराउँदै वर्तमान सरकारलाई पनि त्यही मापदण्ड लागू हुनुपर्ने बताए। ‘राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने नजिर उहाँहरूले नै स्थापित गर्नुभएको हो,’ कर्णले भने, ‘त्यही नजिरका आधारमा अब प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’
सरकारले गठन गर्ने छानबिन समितिप्रति विश्वास नरहेको बताउँदै सांसद कर्णले घटनाको निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न न्यायिक समिति गठन गर्न माग गरे। साथै, दमनको बाटो त्यागेर सर्वदलीय बैठक तथा नागरिक समाजसँगको समन्वयमार्फत समस्या समाधान गर्न उनले सरकारलाई आग्रह गरे।


प्रतिक्रिया