काठमाडौं-प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएको पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनु परेको बताएका हुन्।
‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए आज यो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन। त्यसैले यी चार जना मृतकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ,’ सांसद बरालले भने।
सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरेका छन्। ‘छानबिन न्यायिक हुनुपर्छ। तजबिजी ढङ्गबाट बनाइएको छानबिन समितिले न्याय दिन सक्दैन। त्यसैले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी यस घटनाको यथोचित कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न म सरकारसँग माग गर्दछु,’ बरालले भने।
सांसद बरालले देशमा महँगी बढेको, ग्यासका लागि नागरिकले लामो समय लाइनमा बस्नुपरेको र सरकारले आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।


प्रतिक्रिया