अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहने: नेकपा

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहने: नेकपा


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका सवालमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद बलावती शर्माले प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्र सक्रिय रहेको तर देशका ज्वलन्त समस्या समाधानमा उदासीन बनेको आरोप लगाइन्।

सांसद शर्माले प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रमबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषय पुनः उठाउँदै त्यसप्रति आपत्ति जनाइन्। प्रधानमन्त्रीको उक्त भनाइ गैरजिम्मेवार रहेको दाबी गर्दै शर्माले त्यसबारे स्पष्ट जवाफ नआएसम्म र संसद्को अभिलेखबाट हटाइएनसम्म आफ्नो पार्टीको विरोध जारी रहने चेतावनी दिइन्।

‘प्रधानमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्तिको जवाफ नआएसम्म र उक्त भनाइ संसद्को रेकर्डबाट नहटाइएसम्म हाम्रो विरोध जारी रहनेछ। राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गर्नु विडम्बना हो,’ सांसद शर्माले भनिन्।

सांसद शर्माले राष्ट्रियता र सीमा सुरक्षाजस्ता विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै संसद् र जनतासमक्ष प्रधानमन्त्रीले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग समेत गरिन्।

नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी नेपालीहरूले बनाएको माटोको अस्थायी बाँध भत्काएको घटनाप्रति उहाँले सरकारको ध्यानाकर्षण गराइन् । 

प्रधानमन्त्रीको कार्यशैली लाचार भएको र उनका विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्ति बढेको उनको तर्क थियो। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा भइरहेको अतिक्रमणबारे पनि प्रश्न उठाइन् ।

सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड्कावलाई नियन्त्रण गर्न सरकार ढिलो गरी तातेको उनले बताइन् । 

घटनामा ज्यान गुमाउनेहरूका लागि उचित क्षतिपूर्तिको माग गर्दै उहाँले सत्यतथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिन् ।