काठमाडौं-नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित तराई-मधेस क्षेत्रमा उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनावबारे निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी, घटनाका कारण र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अफवाह फैलाउने व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका हुन्। उनले धर्मका नाममा हुने द्वन्द्वले कुनै पनि धर्मलाई विजयी नबनाई अन्ततः मानवतालाई नै क्षति पुर्याउने इतिहास रहेको उल्लेख गरे।
‘इतिहासले बारम्बार एउटा कठोर सत्य सिकाएको छ। धर्मका नाममा सुरु भएका द्वन्द्वले कुनै पनि धर्मलाई विजयी बनाएका छैनन्, केवल मानवतालाई पराजित गरेका छन्,’ राईले भने।
उनले कुनै पनि धर्म वा समुदायलाई शंकाको घेरामा नराख्न सरकारको ध्यानाकर्षण गराउँदै शान्ति भनेको केवल कर्फ्यु हटाउनु वा सडक सञ्चालन गर्नु मात्र नभई नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जगाउनु र समुदायबीच आपसी विश्वास कायम गर्नु पनि भएको बताए।
सचेतक राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि प्रश्न उठाए। धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्षले आफूलाई उपेक्षित वा असुरक्षित महसुस गर्न सक्ने भएकाले सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।
‘शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को पक्षको असन्तोषको आधार तयार गर्नु हुँदैन,’ उनले भने।
राईले धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित संवेदनशील विषयमा सरकारले खुला, पारदर्शी र समावेशी ढंगले संवाद गर्दै सबै पक्षको विश्वास जित्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया