अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो भाषा ठाडो भयो, क्षमा चाहन्छु भन्दै राष्ट्रिय सभाबाट गृहमन्त्री गुरुङले मागे माफी

मेरो भाषा ठाडो भयो, क्षमा चाहन्छु भन्दै राष्ट्रिय सभाबाट गृहमन्त्री गुरुङले मागे माफी


काठमाडौं-गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रश्न सोध्ने राष्ट्रिय सभाका सांसदलाई प्रश्न नसोध्न आग्रह गरेका छन् ।

साउन २१ गते बिहीबार राष्ट्रियसभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन् ?’  भनि सोधिएको प्रश्नमा गृहमन्त्री गुरुङले प्रतिप्रश्न गर्दै भने,  ‘हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ? अहिले हामीलाई आएर त्यो भारी बोकाउने ? यो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ।’ 

गृहमन्त्री गुरुङले पीडित परिवारको घाउलाई सदनमार्फत बारम्बार नकोट्याउन आग्रह गरे। ‘यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला, मसँग उत्तर छ तर यसरी सार्वजनिक रूपमा पटक–पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ।’

गृहमन्त्रीको यस्तो जवाफपछि सांसद विश्वकर्माले आपत्ति जनाउँदै संसद्‌मा प्रश्न सोध्न पाउनु आफ्नो विधायकी अधिकार भएको र मन्त्रीले जवाफ दिनै पर्ने अडान राखेका थिए। 

सांसद विश्वकर्माले युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्याका घटना रोक्न सरकारले के गरिरहेको छ भनी अर्को प्रश्न सोधेका थिए। जवाफमा गृहमन्त्री गुरुङले यसलाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताएका थिए।

गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै  माफी मागेका छन्। 

 मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की परेपछि गृहमन्त्री गुरुङले रोष्ट्रमबाटै क्षमा याचना गरेका हुन्।

बैठकमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्गमा  गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए । मन्त्रीको उक्त रुखो शैली र संसदीय मर्यादा विपरीतको अभिव्यक्तिको सदनमा आलोचना भएपछि उनले तत्कालै माफी मागेका हुन्।

आफ्नो अभिव्यक्तिप्रति प्रश्न उठेपछि गृहमन्त्री गुरुङले माफी माग्दै भने, ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु। यसका लागि म क्षमाप्रार्थी पनि छु।’

विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको उनको भनाइ थियो।

‘विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं। तर विषयकेन्द्रित नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो। किन यसरी घुमाइन्छ ?,’ गृहमन्त्री गुरुङले भने, ‘मलाई यो अचम्म लाइराछ। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के ? यसमा विषयकेन्द्रित हुनुपर्ला माननीय ज्यू।’