काठमाडौं-आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउनको पहिलो १५ दिनको बम्पर उपहार सार्वजनिक भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार विजेताको नाम सार्वजनिक गरिएको हो।
कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।
विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार अन्य १५ जनाले जनही १ लाख रुपैयाँको उपहार जितेका छन्। गोपनीयताका कारण उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। उपहार रकमबाट प्रचलित कानुनअनुसार कर कट्टा गरिने विभागले जनाएको छ।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बैंक तथा वालेटको क्यूआरमार्फत खरिद गर्ने उपभोक्ता स्वतः सहभागी हुनेछन्। नगदमा खरिद गर्नेले भने प्यान वा भ्याट बिल लिएर विभागको वेबसाइटमा अपलोड गरी कुपन लिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया