काठमाडौँ-सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा उठेको विवादबारे आजै संसद्मा स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरलाई अन्यत्र सार्न खोजिएको भन्दै कडा विरोध जनाएका थिए। सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले उक्त योजना परिवर्तन गर्न खोजेको आरोप लगाउँदै सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।
आकस्मिक समयमा बोल्दै सांसद यादवले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण ढल्केबरको ट्रमा सेन्टर सार्ने प्रयास भइरहेको दाबी गर्दै यसको विरोधमा आफू बैठक अवधिभर सदनमा उभिएर ‘मौन विरोध’ गर्ने घोषणा गरेका थिए। उनले सरकारले आफ्नो प्रश्नको जवाफ नदिएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिएका थिए।
यस क्रममा सभामुख अर्यालले सांसद यादवले उठाएको विषय गम्भीर रहेको भन्दै सरकारलाई आजै सदनमा स्पष्ट धारणा राख्न निर्देशन दिए। सभामुखको निर्देशनपछि सांसद यादवले आफूले उठाएको विषयमा स्वास्थ्यमन्त्री वा अर्थमन्त्रीबाट जवाफ आउनुपर्ने अडान राखेका थिए।
सभामुखले सरकारलाई जवाफ दिन निर्देशन दिएपछि सांसद यादव आफ्नो स्थानमा बसेका थिए भने त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढाएका थिए।


प्रतिक्रिया