काठमाडौं-नेकपा (एमाले)की सांसद यशुदा बरालले सरकार शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनावको प्रसंग उठाउँदै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरिन्। उनले हिमाल, पहाड र तराईका सबै नेपाली मिलेर बस्नुपर्ने आवश्यकता औँल्याउँदै देशमा सामाजिक सद्भाव कायम राख्न सरकार जिम्मेवार हुनुपर्ने बताइन्।
सांसद बरालले सरकारको नैतिकतामाथि समेत प्रश्न उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति आलोचना गरिन्। ‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ ?’ भन्दै उनले देशमा शान्ति सुरक्षा दिन नसक्ने नेतृत्वले पदमा बसिरहन नमिल्ने धारणा राखिन्।
सांसद बरालले सरकार असफल भएको दाबी गर्दै तत्काल नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गरिन्। ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उनीहरूले तत्काल राजीनामा दिनुपर्छ। संसद्मा १८२ जना सांसद हुनुहुन्छ, अरू कसैले सरकार चलाउन सक्छन्। तर यो असफल नेतृत्व अब चल्न सक्दैन,’ उनले भनिन्।


प्रतिक्रिया