काठमाडौं-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको चर्को आलोचना गर्दै आफ्नै पुराना राजनीतिक भाषण सम्झिँदा अहिले लाज लाग्ने अवस्था आएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले चुनावताका रास्वपाले ‘सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा ओन्ली अनलाइन’ भन्ने नारासहित जनतासामु गरेका प्रतिबद्धता स्मरण गरे। अहिले भने सर्वसाधारण भात पकाउने ग्यासका लागि दिनभर, रातभर र मध्यरातसम्म लाइनमा बस्न बाध्य भएको दृश्यले आफूलाई लाज लागेको सांसद प्रसाईंले बताए।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु। मेरै गालामा मेरै चड्कन। मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा ओन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा’ उनले भने, ‘मलाई लाज लाग्छ।’
सांसद प्रसाईंले सरकारसमक्ष दुईवटा प्रश्न पनि तेर्स्याए। पहिलो, प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा ग्यासको अभाव छ कि छैन भन्ने प्रश्न उनले उठाए। दोस्रो, सरकारले दाबी गरेअनुसार ग्यास पर्याप्त परिमाणमा आयात भइरहेकै अवस्थामा कृत्रिम अभाव र कालोबजारी भइरहेको हो भने त्यसमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरेर कडा सजाय दिन सरकार किन असफल भएको भन्ने प्रश्न गरे।
‘आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ उनले भने । ग्यासको अभाव देशैभरि रहेको भन्दै प्रसाईंले प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन भन्ने प्रश्न गरे। ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ?,’ उनले प्रश्न गरे ।
‘ग्यास ह्वारह्वार्ती आइरहेको छ र कालोबजारीका कारण अभाव सिर्जना भएको हो भने ती कालोबजारी गर्नेलाई कठोर दण्ड दिन दुई तिहाइको सरकारलाई केले रोकेको छ ?’ उनले प्रश्न गरे।
सांसद प्रसाईंले जनताले नयाँ सरकार चाहेको भनेको केवल आकर्षक वा ‘ह्यान्डसम’ अनुहारका लागि नभई नयाँ चरित्र, नयाँ कार्यशैली र परिणामका लागि भएको भन्दै सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको संकेत गरे।


प्रतिक्रिया