काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले सरकारले सुकुमबासीहरूलाई जग्गा वितरण गरेको भनी गरिरहेको प्रचारलाई स्टन्टबाजीको संज्ञा दिएका दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भाटले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको उदाहरण दिँदै वर्षौँदेखि भोगचलन गर्दै आएको गाउँ ब्लकको जग्गालाई सुकुमबासीलाई बाँडिएको जग्गाको रूपमा झुटो प्रचार गरिएको बताए।
सांसद भाटले रुपन्देहीमा हालै वितरण गरिएको लालपूर्जा सुकुमबासीलाई नभई गाउँ ब्लक र गाउँ धुरीका बासिन्दाहरूलाई दिइएको स्पष्ट पारे। ‘त्यहाँ जमिन्दारदेखि गरिबसम्म सबैका जग्गा छन्, जुन दुई वर्ष अघिदेखि नै वितरण सुरु भएको थियो,’ उनले भने, ‘अहिलेको सरकारले त्यसैलाई ठुलो उपलब्धि देखाएर सुकुमबासीको जग्गा बाँडेको भन्दै व्यापक प्रचार गरिरहेको छ, जुन सरासर झुटो हो।’
नेपालभर करिब १२ लाख सुकुमबासीहरूले जग्गाका लागि निवेदन दिएको उल्लेख गर्दै सांसद भाटले उनीहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको बताए। ‘वास्तविक सुकुमबासीहरू अझै लालपूर्जाको पर्खाइमा छन्, उनीहरूको १२ लाख निवेदन मन्त्रालयमा थन्किएका छन्,’ भाटले भने, ‘तर सरकारले गाउँ ब्लकको जग्गालाई सुकुमबासीको जग्गा भनेर सस्तो लोकप्रियता कमाउन खोजिरहेको छ।’
सांसद भाटले सरकारलाई झुटो प्रचार र स्टन्टबाजी बन्द गरेर वास्तविक सुकुमबासीका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे। ‘झुटो प्रचारले गरिब जनताको चित्त बुझ्दैन, वास्तविक काम गरेर देखाउनुहोस्,’ उनले भने।
उनले रुपन्देहीको रोहिणीमा पहिले नै ५७१ जनाले लालपूर्जा पाइसकेको बताए। सांसद भाटले सुकुमबासी समस्यालाई राजनीतिक नारा मात्र नबनाई इमानदारिताका साथ समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।


प्रतिक्रिया