अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिसर्ट लगाएर संसद् छिर्ने प्रधानमन्त्री-मन्त्रीलाई रोक लगाउन एमाले सांसद पोखरेलको माग

टिसर्ट लगाएर संसद् छिर्ने प्रधानमन्त्री-मन्त्रीलाई रोक लगाउन एमाले सांसद पोखरेलको माग


काठमाडौं-नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा र मर्यादा कायम राख्न संसद्मा पोसाक संहिता (ड्रेस कोड) लागू गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेको भन्दै आपत्ति जनाए। सांसद पोखरेलले संसद्को मर्यादा जोगाउन सांस्कृतिक वा राष्ट्रिय पोसाक अनिवार्य गर्नुपर्ने र प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर संसद् भवनभित्र प्रवेश गर्न रोक लगाउन सभामुखसँग विशेष रुलिङको माग गरे।

‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,’ सांसद पोखरेलले भने।

संसदीय अनुशासनको महत्वबारे चर्चा गर्दै पोखरेलले न्युजिल्यान्ड र क्यानडाको संसद्का उदाहरण प्रस्तुत गरे। उनले सन् २०२१ मा न्युजिल्यान्डका सांसद रबिरि वैतिति टाइ लगाउन अस्वीकार गरेपछि संसदीय रुलिङमार्फत सदनबाट निष्कासित गरिएको तथा सन् २०२३ मा क्यानडाको संसद्ले पनि पोसाकसम्बन्धी स्पष्ट मापदण्ड लागू गरेको उल्लेख गरे।

सांसद पोखरेलले संसद्को लोगोको प्रयोग पनि अव्यवस्थित भइरहेको भन्दै त्यसलाई मर्यादित बनाउन आवश्यक रहेको बताए। उनका अनुसार संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज र सलमा प्रयोग गर्न रोक लगाइनुपर्छ।

संसदीय मर्यादा, अनुशासन र संस्थागत गरिमालाई प्राथमिकतामा राख्दै उनले संसद्सम्बन्धी पोसाक तथा प्रतीकहरूको प्रयोगबारे स्पष्ट मापदण्ड बनाउन सभामुखको ध्यानाकर्षण गराएका छन्।