काठमाडौं-प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने, तथ्य प्रस्तुत गर्नुपर्ने वा अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइनुपर्ने माग विपक्षीको छ।
विपक्षी दलहरूको आरोप छ कि प्रधानमन्त्रीले हालसम्म उक्त विषयमा कुनै स्पष्टिकरण दिएका छैनन्। त्यस्तै, सभामुखले पनि विवादित भनिएको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन नदिएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका छन्।
सोही विषयलाई लिएर विपक्षी दलहरूले मंगलबार पनि बैठक प्रारम्भ भएलगत्तै सांकेतिक विरोध जारी राखेका हुन्।


प्रतिक्रिया