काठमाडौं-नेकपा (एमाले)का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति फिर्ता गराउन सभामुख डोलप्रसाद अर्यालले पहल गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मण्डलले प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसलाई सच्याउन सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले प्रधानमन्त्री भारत भ्रमणअघि दिल्लीलाई खुसी पार्ने उद्देश्यले उक्त अभिव्यक्ति दिएको दाबी समेत गरे।
सभामुखलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईँजस्तो शालीन, अनुभवी र योग्य व्यक्तित्व हामीले पाएका छौँ। प्रधानमन्त्रीजीसँग वार्ता गरेर उहाँका अभिव्यक्ति फिर्ता लिन पहल गरिदिनुस्। प्रधानमन्त्रीजी जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ स्वयं रोस्ट्रममा आएर अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन।’
सांसद मण्डलले सभामुखले नै पहल गरी प्रधानमन्त्रीको भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग पनि गरे। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद्मा सही र गलत विषय छुट्याएर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरे।
उनले रास्वपा सांसदहरूलाई लक्षित गर्दै जनताले दिएको बहुमतको सम्मान गर्न र हरेक विषयमा अन्धाधुन्ध समर्थन वा विरोध नगर्न सुझाव दिए। ‘संसद्को बैठकमा ठिक र बेठिक छुट्याउने प्रयास गर्नुस्। सबै विषयमा ढ्यापढ्याप नगर्नुस्। यस्तो क्रियाकलापले आगामी दिनमा तपाईँहरूलाई पनि भलो गर्दैन,’ उनले भने।


प्रतिक्रिया