अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ‘गुप्तवास’मा रहेको सांसद गोपाल शर्माको टिप्पणी, संसदमा उपस्थित हुन आग्रह

प्रधानमन्त्री ‘गुप्तवास’मा रहेको सांसद गोपाल शर्माको टिप्पणी, संसदमा उपस्थित हुन आग्रह


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद र राजनीतिक दलहरूबाट टाढिँदै गएको भन्दै ‘गुप्तवास’ शैली त्यागेर संसदमा उपस्थित हुन आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने राजनीतिक शक्तिहरूसँग निरन्तर संवादमा रहनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री संसदमा उपस्थित हुँदा मात्रै सुरक्षित, सुदृढ र उत्तरदायी सरकार सञ्चालन गर्न सक्ने धारणा राखे।

‘तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसदले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद नै तपाईंको विपक्षमा उभिन्छ,’ शर्माले भने, ‘जसले तपाईंलाई प्रधानमन्त्री बनायो र विश्वासको मत दियो, त्यही संसद र राजनीतिक दलबाट टाढा भएर सरकार चलाउन सकिँदैन।’

सांसद शर्माले प्रधानमन्त्री पछिल्लो समय सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका अभिव्यक्ति दिन थालेको टिप्पणी गर्दै संसदसँगको दूरी यसको प्रमुख कारण भएको बताए। ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, गुप्तवासमा नबस्नुहोस्। तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसदमा आउँदा सांसद र सिंगो संसद तपाईंको साथमा हुन्छ,’ उनले भने।

देशमा देखिएको एलपी ग्यास अभावको प्रसंग उठाउँदै शर्माले प्रधानमन्त्री जनताका समस्याप्रति पर्याप्त रूपमा जानकार नभएको संकेत गरे। ‘अहिले देशमा ग्यासको हाहाकार भएको छ। प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ, उहाँलाई यो अवस्थाबारे थाहा नहुन सक्छ,’ उनले भने। उनले ग्यासको विकल्पका रूपमा विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाउन सरकारलाई सुझाव पनि दिए।

सांसद शर्माले संसदमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित हुन नसकेको र प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे अहिलेसम्म स्पष्टिकरण नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। साथै, प्रधानमन्त्रीका केही विवादास्पद अभिव्यक्ति सच्याउन र ती भनाइ संसद्को अभिलेखबाट हटाउन आवश्यक रुलिङ गर्न सभामुखसँग माग गरे।