काठमाडौँ-सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ। सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ भने राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने छन्। साथै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजै संसद्का विभिन्न सात वटा विषयगत समितिका बैठकहरू पनि बस्दै छन्। बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गर्ने तयारी छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ भने अपराह्न १ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरूमाथि छलफल हुनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौताको कार्यान्वयनको अवस्थाका साथै आगामी जलवायु परिवर्तन सम्मेलन (कोप ३१) का लागि नेपालको तयारीबारे सरकारी अधिकारीहरूसँग जानकारी लिइनेछ। यसका साथै उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि आजै बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया