काठमाडौं-नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारले मन्त्री र सर्वसाधारण नागरिकबीच उपचारमा विभेद गरेको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालले मन्त्री बिरामी हुँदा तत्काल हेलिकोप्टर पुग्ने तर गरिब नागरिकले अस्पतालमा एउटा स्टेचरसमेत नपाउने अवस्था रहेको भन्दै सरकारको आलोचना गरेकी हुन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल बिरामी हुँदा हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। ‘मन्त्री बिरामी हुँदा हेलिकोप्टर पुग्छ, तर जनताले अस्पतालमा स्टेचरसमेत पाएका छैनन्,’ सांसद बरालले भनिन्, ‘मैले मन्त्रीलाई हेलिकोप्टरबाट उद्धार गर्न हुन्न भन्न खोजेकी होइन, तर सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ। सबै बिरामीले समयमा उपचार पाउनुपर्छ।’
सांसद बरालले उपचार सेवामात्र नभई दैनिक उपभोग्य वस्तुको अभावले पनि नागरिक समस्यामा परेको बताइन्। बजारमा खाना पकाउने ग्यासको अभाव र कालोबजारी बढ्दै गएको संकेत गर्दै उनले सुत्केरी महिला र बिरामीसमेत ग्यासका लागि लामो समय लाइनमा बस्न बाध्य भएको उल्लेख गरिन्। सांसद बरालले भनिन्, ‘सुत्केरीहरू दिनभर लाइन बस्दा ग्यास पाएका छैनन् । बिरामीहरू दिनभर लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको छ।’
मुलुकमा सुशासन र सेवा प्रवाहको अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्दै सांसद बरालले सरकारलाई जनताको आधारभूत आवश्यकता र स्वास्थ्य सेवाप्रति संवेदनशील बन्न आग्रह गरिन्। ‘के भएको सरकार ? जनताले कहिलेसम्म यस्तो सास्ती भोग्नुपर्ने हो ?’ भन्दै उनले नागरिकको स्वास्थ्य उपचार र दैनिक आवश्यकतामा राज्यले समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।


प्रतिक्रिया