काठमाडौं-राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पूर्वगृहमन्त्री तथा नेपाल प्रहरीका पूर्व र वर्तमान नेतृत्वमाथि भइरहेको अपमानपूर्ण व्यवहारप्रति आपत्ति जनाएकी छन्। उनले चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूमाथि पछिल्लो समय बदनाम गर्ने, लाञ्छना लगाउने तथा फोन ट्यापिङजस्ता गतिविधि भइरहेको भन्दै प्रश्न उठाएकी हुन्।
सोमबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै झाँक्रीले सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी पोशाक खरिदसम्बन्धी विषयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई गरिएको प्रश्नको शैली तथा पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालमाथि भइरहेका सार्वजनिक टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरिन्।
उनले करिब ११ महिनाअघि डढेलो र जटिल परिस्थितिका बीच जिम्मेवारी सम्हालेका तत्कालीन गृहमन्त्री र प्रहरी नेतृत्वले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै अहिले तिनै व्यक्तिहरूमाथि आरोप, लाञ्छना र निगरानीको प्रयास भइरहेको बताइन्।
‘आजभन्दा ठिक ११ महिना अगाडि डढेलोको भग्नावशेष र प्रहरीको लाशमाथि चुनौतीपूर्ण जिम्मेवारी लिएका तत्कालीन गृहमन्त्री र प्रहरी संगठनका प्रमुखहरू, जसले शान्तिपूर्ण निर्वाचन गराए, आज तिनै व्यक्तिहरूलाई बदनाम गर्ने, लाञ्छना लगाउने, फोन ट्यापिङ गर्ने काम भइरहेको छ,’ झाँक्रीले भनिन्।
उनले सार्वजनिक जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने उल्लेख गर्दै समाजको प्रवृत्तिमाथि नै प्रश्न उठाइन्। ‘कुनै पनि सार्वजनिक जिम्मेवारी प्राप्त गरेको व्यक्ति सम्मानित ढङ्गले बाँच्नै नपाउने हो ? यो समाज कता गइरहेको छ ? मैले सरकारलाई प्रश्न गर्थेँ, आफ्नै पार्टीलाई प्रश्न गर्थेँ, कहिलेकाहीँ म आफैँमाथि पनि प्रश्न गर्थेँ। तर आज म यो समाजलाई प्रश्न गर्छु– यो समाज गतिशील छ, तर प्रश्नरहित छैन,’उनले भनिन्।


प्रतिक्रिया