अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसदको आक्रोश- जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ? 

रास्वपा सांसदको आक्रोश- जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ? 


काठमाडौं-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालले सरकारको आलोचना गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद गेलालले मन्त्रीहरूलाई देश घुम्न नहिँड्न आग्रह गरेका हुन्।

सांसद गेलालले जनताका आधारभूत समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। उनले बिदामा घुम्न गएजस्तो गरी जिल्ला-जिल्ला पुग्नुभन्दा मन्त्रालयमै बसेर नीति निर्माण, निर्णय प्रक्रिया र कर्मचारीको मनोबल उच्च बनाउने काममा ध्यान दिन आग्रह गरे। ‘माननीय मन्त्रीज्यूहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ?’ सांसद गेलालले भने, ‘बिदामा घुम्न जानुभन्दा मन्त्रालयमा बसेर नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस्।’

सांसद गेलालले देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र तिनका समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने भन्दै त्यसका लागि जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको बताए। सांसद गेलालले भने, ‘देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू समेत त्यस क्षेत्रका सांसदहरूले दिन सक्नुहुन्छ। त्यसका लागि जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक छैन।’

उनले अहिले पनि जनताले ग्यास, मल, सञ्चार सेवा, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सुविधाको अभाव झेलिरहेको उल्लेख गरे।

‘आज जनता ग्यास, मल, सञ्चार, सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्। मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन, अस्पतालमा डाक्टर हुँदैनन्,’ सांसद गेलालले भने। मन्त्रीहरूको प्रचारमुखी गतिविधि र भिडियो सार्वजनिक गर्दैमा जनता खुसी नहुने उल्लेख गर्दै उनले सरकारका कारण समस्या समाधान भएको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए।

‘जनताको घर–घरमा मन्त्री पुग्ने होइन, समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ,’ सांसद गेलालले भने, ‘देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस्। अनुहार मात्रै फेरियो भनेर जनताले भन्न थालिसकेका छन्।’

पछिल्लो समय मन्त्रीहरू विभिन्न जिल्लाको भ्रमणमा निस्किरहेका बेला सत्तारुढ दलकै सांसद गेलालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले जनताको अपेक्षा प्रचारभन्दा परिणाममुखी काम भएको भन्दै सरकारलाई सेवा प्रवाह र सुशासनमा केन्द्रित हुन आग्रह गरे।