काठमाडौं-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगतप्रसाद जोशीले शिक्षकहरूलाई आन्दोलन र सडक संघर्षमा उत्रिन बाध्य पार्ने अवस्था सिर्जना नगर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद जोशीले शिक्षकहरूले आफ्नो योगदानअनुसार सम्मान र उचित पारिश्रमिक पाउन नसकेको बताएका हुन्। सांसद जोशीले शिक्षा क्षेत्रप्रति सरकारको उदासीनता बढ्दै गएको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
‘शिक्षकहरूको उचित सम्मान हुन सकिरहेको छैन, उनीहरूले उचित पारिश्रमिक पनि पाउन सकिरहेका छैनन्,’ सांसद जोशीले भने, ‘सरकारले नवउदारवादी नीति लागू गर्दै शिक्षा क्षेत्रबाट पन्छिने दुष्साहास गरिरहेको छ। त्यसका विरुद्ध नेपाली जनताले वाचडगको भूमिका निर्वाह गरिरहेका छन्।’
सांसद जोशीले सामुदायिक विद्यालयप्रतिको जनविश्वास कायम राख्न र गरिब तथा विपन्न वर्गका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउन शिक्षकलाई सडकमा जान बाध्य पार्नु नहुने बताए। उनले शिक्षक आन्दोलनभन्दा पनि शिक्षकलाई सम्मानजनक व्यवहार र अधिकार सुनिश्चित गरेर अघि बढ्न सरकारलाई आग्रह गरे।
‘यो देशमा सरकार पनि छ भन्ने बनाउनको लागि शिक्षकहरूलाई सडकमा जान बाध्य नपार्नको निम्ति ध्यानाकर्षण गराउन चाहुन्छु। शिक्षकको आन्दोलन होइन, उनीहरूलाई उचित रूपमा सम्मान दिएर अगाडि बढ्न सरकारलाई आग्रह गर्छु’ सांसद जोशीले भने ।
उनले आगामी शिक्षा ऐन गरिब तथा निम्न आय भएका परिवारका बालबालिकाको शैक्षिक पहुँच सुनिश्चित गर्ने र शिक्षकका समस्या समाधान गर्ने खालको हुनुपर्ने धारणा समेत राखे।


प्रतिक्रिया