काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभाको मंगलबारको बैठक बहिस्कार गरेकी छन्।
३७ दिनअघि कम्बोडियामा मृत्यु भएका राईको शव अझै नेपाल ल्याउन नसकिएको विषय उठाउँदै सांसद तामाङले सरकार गम्भीर नभएको आरोप लगाएकी थिइन्। उनले अर्थ मन्त्रालयले आवश्यक बजेट व्यवस्था गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि तयार नगर्दा शव ल्याउने प्रक्रिया रोकिएको दाबी गरिन्।
‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके,’ भन्दै उनले सरकारलाई स्पष्ट जवाफ दिन आग्रह गरेकी थिइन्। यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा तीन दिनभित्र जवाफ दिन परराष्ट्र मन्त्रालयलाई रुलिङ गरेका थिए। सोही रुलिङअनुसार आजको बैठकमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए।
तर मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसद तामाङले पुनः प्रश्न राख्न खोजिन्। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीले दिएको जवाफमाथि पुनः प्रश्न सोध्ने व्यवस्था नरहेको जानकारी गराउँदै उनलाई आसन ग्रहण गर्न आग्रह गरे। तर तामाङले बोल्न पाउनुपर्ने अडान कायम राखिन्।
सभामुखले पटक–पटक संसदीय मर्यादा पालना गर्न निर्देशन दिए पनि उनले असन्तुष्टि जनाइरहिन्। अन्ततः सभामुखको निर्देशनपछि सांसद तामाङ विरोधस्वरूप बैठक कक्षबाट बाहिरिएकी थिइन्।
सत्तारुढ दलकै सांसद तामाङले आफ्नै सरकारको जवाफप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठक बहिस्कार गरेपछि संसद्मा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।


प्रतिक्रिया